शिक्षा मर्यादित एवम् सभ्य जीवन विकासको एक महत्त्वपूर्ण आधार हो । ज्ञानमा आधारित समाजको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ । शिक्षाको माध्यमबाट नै व्यक्तिमा सकरात्मक चिन्तनको विकास गर्न सकिन्छ । निर्दिष्ट गरिएका योजनाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्भव हुन्छ । तसर्थ शिक्षालाई विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ ।
साक्षरता देश विकासको मुख्य आधार हो । विकासका निम्ति चाहिने मानवीय स्रोतको आपूर्ति शिक्षित जनशक्तिबाट हुन्छ । विभिन्न क्षेत्रमा चाहिने दक्ष जनशक्ति विकास शिक्षाबाट मात्र सम्भव हुन्छ । शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सिर्जनशील प्रयोगमा जोड दिन्छ । वर्तमान समाजमा साक्षरताको अवधारणामा परिवर्तन भएको पाइन्छ । पहिले पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्थ्यो । वर्तमान सन्दर्भमा पढाइ, लेखाइ, अङ्क गणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता तथा मनोरञ्जन जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ । साक्षरतालाई सशक्तीकरणको माध्यमको रूपमा पनि लिन सकिन्छ । साक्षरता भनेको पढाइ, लेखाइका सिप मात्र नभएर नागरिकको दैनिक जीवन र व्यवहारको पद्धति पनि भएकाले यसमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षहरू समेत जोडिएर रहेका हुन्छन् । समयको परिवर्तन सँगसँगै शिक्षाका विभिन्न माध्यमहरूको विकास भएका छन् ।
प्रविधिमैत्री शिक्षा अहिलेको महत्त्वपूर्ण शैक्षिक आधार बनेको छ । शिक्षित व्यक्तिले मात्र राष्ट्रले अवलम्बन गरेको विकासका योजनाहरू सफल कार्यान्वयन गर्न सक्छ । सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन सक्छ । यसका साथै चेतना जागरण, सामाजिक मूल्य प्रतिको सचेतना, विकासमा जनसहभागिता, सामाजिक सद्भाव र सहयोग बढाउँछ । विकासात्मक कार्य पनि शिक्षित व्यक्तिबाट नै सम्भव हुन्छ ।
स्वास्थ्य विकासको अर्को महत्त्वपूर्ण पूर्वाधार हो । WHO ले स्वस्थ शरीर भनेको शारीरिक रूपमा मात्र तन्दुरुस्त नभएर मानसिक रूपमा तनावमुक्त तथा सामाजिक रूपमा समायोजन हुन सक्ने अवस्था हो भनेर स्वास्थ्यलाई परिभाषित गरेको छ । स्वस्थ जनशक्तिले मात्र देश विकासका निम्ति आवश्यकताअनुसार भूमिका निर्वाह गर्न सक्छ । स्वस्थ जनशक्तिले श्रम र मिहिनेत पर्याप्त गर्न सक्छन् । विकासका अन्य गतिविधिहरू सञ्चालन गर्नका निम्ति स्वस्थ जनशक्ति आवश्यक पर्छ । त्यसकारण स्वस्थ जनशक्तिलाई विकासको पूर्वाधारको रूपमा लिइन्छ ।
नेपालमा स्वास्थ्य क्षेत्रमा क्रमिक रूपमा सुधार भएको छ । स्वास्थ्य चेतना क्रमिक रूपमा बढ्दो छ। आयुर्वेदिक चिकित्सा, अकुपन्चर, प्राकृतिक उपचार, होमोप्याथिक उपचार, योग आदि प्रयोगमा आएको पाइन्छ । नेपालमा स्वास्थ्य क्षेत्रका समस्या पनि उत्तिकै छन् । धेरै भूभाग ग्रामीण तथा पिछडिएको अवस्थामा रहेको छ । ती ठाउँमा व्याप्त गरिबी, अशिक्षा र जनचेतनाको अभावको कारणले गर्दा नागरिकको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको छैन । नेपालमा उपलब्ध स्वास्थ्यकर्मीहरू जनसङ्ख्याको अनुपातमा न्यून रहेका छन् । उपकरण र औषधीको अभाव हाम्रा स्वास्थ्य क्षेत्रका प्रमुख समस्या हुन् । अशिक्षाको कारणले गर्दा आधुनिक स्वास्थ्य सेवामा भन्दा रूढिवादी परम्पराको धामी झाँक्रीमा बढी विश्वास गर्ने चलन छ । अन्य पूर्वाधारको अभावको कारणले गर्दा ग्रामीण भेगमा दक्ष स्वाथ्यकर्मीहरू जान चाहँदैनन् । उपलब्ध स्वास्थ्य सेवाहरू पनि सहरमा मात्र केन्द्रित छन् । यस्ता पक्षहरू नेपालको स्वास्थ्य क्षेत्रका प्रमुख समस्या हुन् ।
पन्ध्रौँ पञ्चवर्षीय योजनामा प्रतिकारात्मक प्रवर्धनात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रशामक लगायतका आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने रणनीति लिएको छ । स्वास्थ्य क्षेत्र विकासको महत्त्वपूर्ण आधार भएकाल नागरिकको समतामूलक पहुँच हुनुपर्छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनु, स्वास्थ्यसम्बन्धी परम्परागत सोचाइ निराकरण गर्नका निम्ति जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु वर्तमानका आवश्यकता हुन् ।
अर्थपूर्ण ढङ्गले विचारको आदानप्रदान गर्ने प्रक्रिया सञ्चार हो । वर्तमान विश्वमा सूचना प्रविधिको विकासमा देखा परेको तीव्र परिवर्तन सँगसँगै सञ्चार क्षेत्रले व्यापकता पाएको छ । जुन राष्ट्रले सञ्चारको क्षेत्रमा प्रगति गरेका छन् उनीहरू नै विकासको दृष्टिकोणले अगाडि रहेको पाइन्छ । सञ्चार विकासका निम्ति एक महत्त्वपूर्ण पूर्वाधारको रूपमा रहेको छ ।
सञ्चार आर्थिक विकासको संवाहक एवम् उत्प्रेरक हो । सञ्चार लिखित, मौखिक, साङ्केतिक गरी भिन्न भिन्न किसिमबाट गर्न सकिन्छ यसको उद्देश्य आफ्नो विचार व्यक्त गर्न र अरुको विचार ग्रहण गर्न मद्दत पुयाउनु हो । वर्तमान समयमा सञ्चारका विभिन्न माध्ययम विकास भएका छन् । सञ्चारका निम्ति प्रयोग भएको सबैभन्दा पुरानो माध्यम हुलाक सेवा हो । वर्तमान समयमा प्रविधिको विकाससँगसँगै अन्य माध्यम विकास भएका छन् । नेपालमा प्रचलित सञ्चारका प्रमुख माध्यम रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइल, पत्रपत्रिका, इमेल, इन्टरनेट, हुलाक सेवा हुन् ।
सञ्चारमा सबै नागरिकको पहुँच पुग्न नसक्नु, इन्टरनेट र साइबर सुरक्षाका लागि संरचनागत व्यवस्था नहुनु, हुलाक सेवालाई व्यवस्थित गर्न नसक्नु, सूचना प्रविधिको क्षेत्रमा अपेक्षित विकास हुन नसक्नु आदि नेपालका सञ्चार क्षेत्रका प्रमुख समस्या हुन् । यस किसिमका समस्यालाई समाधान गर्ने उद्देश्यले नेपालको पन्ध्रौँ योजनाले सबै नागरिकमा सञ्चार तथा सूचना प्रविधिको सहज पहुँच तथा उपयोग विस्तार गर्ने, सञ्चार र सूचना प्रविधिको सेवालाई सर्वसुलभ, भरप र्दो र गुणस्तरीय बनाउने, सञ्चार र सूचना प्रविधिमा आधारित उद्योगको विकास गरी रोजगारी वृद्धि गर्ने जस्ता उद्देश्य लिएको छ ।
✒️. उत्तर तामाङ्ग (Uttar Tamang)
Comments
Post a Comment