बेलायतमा १८औं शताब्दीको उत्तरार्द्धमा सुरू भएको औद्योगिक क्रान्तिको लहर १९औं शताब्दीको आरम्भमै फ्रान्स, जर्मन, इटाली, अस्ट्रिया र रूससम्म तीव्र गतिमा फैलिन पुग्यो । त्यो लहर युरोपमा मात्र सीमित नरहेर एटलान्टिक महासागर पारिको संयुक्त राज्य अमेरिकासम्म पुग्यो । आधुनिक उद्योगले विश्व बजारको स्थापना गर्यो, जसका लागि अमेरिकाको खोजले मार्ग प्रशस्त गरेको थियो । यो बजारले वाणिज्य, नेवी - परिवहन र स्थल - संचारको क्षेत्रमा अत्याधिक उन्नति गर्यो । यो उन्नतिको प्रभाव उद्योग विस्तारमा पर्यो र जुन अनुपातमा उद्योग, वाणिज्य, नेवी-परिवहन र रेल लाइन वृद्धि भयो, त्यही अनुपातमा पुँजीपति वर्गले उन्नति गर्यो, उसको पुँजीमा वृद्धि भयो । यसका साथै उसले मध्ययुगबाट चलिआएको प्रत्येक वर्गलाई पृष्ठभूमिमा धकेलिदियो ।
उद्योगमा प्रयोग हुने नयाँ इन्जिनको अविष्कार र सुधार तथा इन्जिनियरिङ उद्योगको (मेसिन निर्माण गर्ने ठूलो मेसिन) विकासले उत्पादन प्रक्रियालाई शिघ्रता प्रदान गर्यो । त्यसरी नै १९औं शताब्दीमै सुरु भएको परिवहन क्षेत्रको प्राविधिक क्रान्तिले पनि ( Technological Revolution) उद्योगको सम्पूर्ण शाखा - प्रशाखालाई व्यापक प्रभाव पारेको थियो ।
मजदुरको परिवारमा जन्मेका एक स्वशिक्षित अंग्रेज इन्जिनियर जर्ज स्टिफेन्सनले सन् १८१४ मा प्रथम पटक वाष्प इन्जिन आविष्कार गरे । सन् १८२९ मा म्यानचेस्टरदेखि लिवरपुलसम्म बेलायतमा ६५ किमि वाष्पचालित रेल चल्न सुरु गयो । सन् १८३१ मा अमेरिकामा, १८३२ मा फ्रान्समा र १८३७ मा रूसमा रेलमार्ग निर्माण सुरू भयो । सन् १८४० मा संसारमा रेलमार्गको लम्बाइ ९,००० कि.मि., १८५० मा ४०,००० कि.मि., १८६० मा १,१०,००० कि.मि. र १८७० मा २१०,००० कि.मि. पुगेको थियो । रेल परिवहनको विस्तारले आन्तरिक एवं विदेशी व्यापारलाई विस्तार गयो, धातु र इन्धनको माग बढ्यो, उद्योगधन्दाको विकास भयो र कतिपय देशमा औद्योगीकरणले तीव्रता पायो ।
त्यसरी नै रोवर्ट फुल्टनले सन् १८०७ मा वाष्पचालित पानीजहाज निर्माण गरे । त्यसले समुद्रयात्रालाई सहज बनायो । त्यस जहाजले सन् १८१८ मा एटलान्टिक महासागर पार गयो । पानीजहाजको विकासले महासागर पनि संचारमा बाधक हुन छोड्यो । वाष्पचालित परिवहनको (जल, जमिन) आविष्कार र विकासले १९औं शताब्दीमा पुँजीवादको तीव्र विकास भयो । 'व्यापार, सामुद्रिक यातायात र उद्योग-धन्दाहरूले अभूतपूर्व प्रोत्साहन पायो । यो नयाँ व्यवस्थाले जनसंख्याको ज्यादै ठूलो हिस्सालाई सहरमा थुपार्यो, उत्पादनको साधनहरूलाई एकीकृत गयो र थोरै मानिसको हातमा विपुल सम्पत्ति थुपारिदियो' (कार्ल मार्क्स, उही) ।
फलतः युरोप र संयुक्त राज्य अमेरिकामा ठूल्ठूला औद्योगिक नगर खडा भए र ती नगरमा मजदुरको पनि ठूलो सख्यामा संकेन्द्रण भयो । बेलायतमा औद्योगीकरण तीव्र भयो र त्यस प्रक्रियाले १९ औं शताब्दीको दोस्रो दशकसम्ममा पूर्णता प्राप्त गन्यो । त्यसले त्यहाँ मुख्य दुई वर्ग (औद्योगिक पुँजीपति र औद्योगिक सर्वहारा ) लाई अगाडि ल्यायो र अन्य बाँकी वर्ग किसान, अभिजात र निम्न पुँजीपति (Petty- bourgeous) को भूमिकालाई गौण बनायो । फ्रान्स, जर्मनी र अमेरिकामा पनि जहाँ पुँजीवादले विकास गरेको थियो, जहाँ पुँजीपति र सर्वहारा वर्ग नै मुख्य सामाजिक वर्गका रुपमा देखा परे । तर, ती देशमा त्यसबखत पनि किसानको संख्या नै अत्याधिक थियो । त्यहाँ राज्यसत्ता प्राक्-पुँजीवादी वर्ग समुदायहरू (अभिजात र भूस्वामी वर्ग) कै हातमा रहेको थियो ।
📖. सीताराम तामाङ (विश्व कम्यूनिष्ट आन्दोलन)
Comments
Post a Comment